काठमाडौं साउन २२ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन् ।
आज बिहान उनले सामाजिक सञ्जालमार्फत २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि एमाले र कांग्रेसमा नेतृत्व हस्तान्तरण भइरहँदा पनि माओवादीमा भने एकै व्यक्ति निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गरेका हुन् ।
०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेका पाँच र कांग्रेसका चार नेताले पार्टीको नेतृत्व सम्हालेका छन् । जसमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली एमालेको नेतृत्वमा पुगेको र कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेरबहादुर देउवाले पार्टी नेतृत्व गरेका छन् ।
तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निरन्तर पार्टीको मूल नेतृत्वमै छन् । प्रचण्डले पार्टी नेतृत्व युवा पुस्तालाई छाड्नुपर्ने आवाज बेलाबेलामा उनकै पार्टीभित्र उठ्ने गरेको छ । तर, अहिलेसम्म माओवादीभित्र त्यस्तो आवाज शक्तिशाली बन्न सकेको छैन ।
यसैप्रति व्यंग्य गर्दै पोखरेलले एमाले र कांग्रेसको मुख्य नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सदावहार मूल नेतृत्वमा रहेको भन्दै व्यंग्य गरेका हुन्।दृष्टिबाट